Tuesday, September 17, 2013

इलाम जिल्लालाई विभिन्न ७ ‘अ’ को जिल्ला भनेर चिनिन्छ

पूर्वीनेपालको इलाममा बूढापाकाहरुका पालामा यस्तो गीत सुनिन्थ्यो । तर, अहिले यो जिल्ला पूर्णरुपमा फेरिएको छ । नेपालमै पहिलो झुल्के घाम हेर्न पाइने ‘श्रीअन्तु’ पर्यटकीय स्थल रहेको इलाम यतिबेला दुखिया नभएर सुखी मानिसहरु बस्ने जिल्ला बनिसकेको छ । र, इलामलाई सुखी र रमणीय जिल्ला बनाउने काम चाँहि ७ वटा ‘अ’ले गरेका छन् ।
प्रकृति र संस्कृति इलामका पर्याय हुन् । इलामलाई ‘पहाडकी रानी, नगदेवालीको खानी’ उपनामले समेत चिनिन्छ । इलाम बजार, बिब्ल्याँटे, फिक्कल, पशुपतिनगर, नयाँबजार, मंगलबारे, देउराली इलामका मुख्य व्यापारिक केन्द्रहरु हुन् । इलाममा अधिकाँश मानिसहरु कृषि पेशामा आधारित छन् । इलाम जिल्लालाई विभिन्न ७ ‘अ’ को जिल्ला भनेर चिनिन्छ । जसमा अलैंची, अदुवा, अकबरे खोर्सानी, अर्थोडक्स चिया, आलु, अम्लिसो तथा ओलन (दूध) पर्दछन् ।
अलैंचीः
वि.सं. १९७६ सालमा भारतको सिक्किमबाट इलाम भित्रिएको मानिएको अलैंची २०१५ सालदेखि किसानको आम्दानीको राम्रो स्रोत बन्दै आएको छ ।
अलैंची खेतीमा अग्रणी मानिएको इलाममा केही वर्षदेखि विभिन्न रोगका कारण यसको उत्पादन घट्दै गएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । आर्थिक वर्ष ०६६/०६७ मा दुई हजार एक सय हेक्टरबाट नौ सय ६३ मेटि्रक टन अलैंची उत्पादन भएकोमा हाल १ हजार ७ सय ६० हेक्टरमा मात्र खेती भइरहेको र बाषिर्क उत्पादन ४ सय ४० मेटि्रक टन उत्पादन भएको कार्यालयले जनाएको छ । यस बर्ष अलैची सरदर प्रतिमन ४० हजार रुपैयाँमा बिक्री भएको छ ।
अदुवाः
अदुवा इलाममा सफल नगदे बाली हो । केही वर्षदेखि इलामका कृषकले अदुवाको व्यवसायिक खेती गर्दै आएका छन् । इलामका प्रायः सबै गाविसहरुमा अदुवा खेती हुने गरेको छ । आर्थिक वर्ष ०६८/०६९ मा तीन हजार एक सय ७० हेक्टरमा अदुवा खेती गरीएकोमा ४५ हजार मेट्रीक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय इलामका प्राविधिक सहायक केशरबहादुर मंग्रातीले जानकारी दिनुभयो ।
अदुवाखेतीबाट दुईपटक आम्दानी लिन सकिन्छ । पहिलो आम्दानी जेठ अन्तिमदेखि असार अन्तिमसम्म अदुवाको बुढी (माउ) बाट हुन्छ भने दोस्रो आम्दानी मंसिर, पुस देखि माघ अन्तिमसम्म हुने गर्दछ । अदुवा माघ महिनाको अन्त्यदेखि फागुन महिना भर र बैशाखमा समेत रोपिन्छ ।
यहाँ उत्पादित अदुवा झापाको काँकडभिट्टा हुँदै भारतका विभिन्न स्थानमा पुग्ने गरेको छ । यहाँको बजार प्रणाली सुदृढ र सशक्त हुन नसकेको कारणबाट कहिलेकाँही एकै दिनमा दुईबटा दररेटमा खरिद बिक्री हुने कुरा व्यापारीहरु बताउँछन् । आ.व. ०६८/०६९ मा अदुवाको मूल्य ३५ रुपैयाँ प्रतिकेजीदेखि ५५ रुपैयाँसम्म पुगेको कृषि विकास कार्यालय इलामले जनाएको छ । जसमा माउ अदुवा प्रतिकेजी ३५ रुपैयाँदेखि ४० रुपैयाँको भाउमा बिक्री भएको थियो ।
अकबरे खुर्सानी :
अकबरे खुर्सानीको उत्पादनमा समेत इलाम अग्रणी जिल्ला मानिन्छ । औषधीय गुण समेत भएको अवकरे खुर्सानीको सेवनबाट ग्याष्ट्रिक तथा डायविटिज रोग निको हुने तथा पेट नपोल्ने विश्वास रहेको छ । इलाममा डल्लो लामो, मझौला (वयरे) र मसिनो गरी ३ किसिमका अकवरे पाइन्छ ।
इलामका जिर्मले, लक्ष्मीपुर, पञ्चकन्या, कोल्बुङ्ग, कन्याम, फिक्कल, सोयाङ्ग, नाम्सालिङ्ग, गोदक गाविसहरुमा यसको खेती गरिन्छ । आ.व. ०६८/०६९ मा एक सय ६० हेक्टरमा अकवरे खेति गरिएकोमा पाँच सय ५६ मेट्रीक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । यहाँ उत्पादन हुने खुर्सानी भारतीय सिमा दार्जिलिङ्ग र सिक्किममा निकासी हुने गरेको छ । अहिले यसको मूल्य प्रतिकेजी १ सय ५० रुपैयाँ रहेको प्राविधिक सहायक मंग्रातीले जानकारी दिनुभयो ।
 अर्थोडक्स चिया :
इलाममा विस्तारै व्यवसायिकता पाएको चियालाई कृषकहरुले मुख्य खेतीको रुपमा अगाँलेका छन् । इलामका सबै उद्योगमा अर्थोडक्स चिया उत्पादन हुन्छ । इलामको अर्थोडक्स चियाले विश्व बजारमा निकै महत्व पाएको छ ।
जर्मनी, जापान, युएइ, अमेरिका लगायतका देशहरुमा अर्थोडक्सको निर्यात हुने गरेको छ । इलाममा उत्पादन हुने चियाअन्तर्गत किसानहरुले प्रशोधन कारखानालाई बिक्री गर्दा अर्थोडक्स भएको प्रमाणित बगानमा उत्पादित हरियो पत्ति चिया प्रति केजी ५० रुपैयाँमा बिक्रीहुँदै आएको र सदर हरियो पत्ति चिया प्रतिकेजी २५ रुपैयाँमा बिक्री वितरण भइरहेको केन्द्रीय चिया सहकारी संघले जनाएको छ ।
प्रशोधित अर्थोडक्स चिया प्रतिकेजी एक हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । त्यस्तै ग्रिन टी प्रतिकेजी एक हजार दुई सय रुपैयाँ र वाइट टि चार हजार पाँचसय सम्मा बिक्री हुने केन्द्रीय सहकारी संघका सचिव रविन राईले जानकारी दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालयले भने सम्पूर्ण चियालाई एकै ठाउँमा गणना गरेको जानकारी दिएको छ । कार्यालयको तथ्यांक अनुसार ५ हजार २ सय ६२ हेक्टरमा लगाइएको चियाबारीबाट बाषिर्क एक हजार ६ सय १२ मेट्रिकटन उत्पादन भएको छ । चिया सरदरमा ६ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्ममा बिक्री वितरण भएको छ ।
आलुः
आलु पनि इलामको एक महत्वपूर्ण नगदे बाली हो । इलामका सबै गाविसहरुमा आलुको ब्यवसायिक खेती हुने गरेको छ । यहाँ विशेष गरी बिट्टे, झ्याले कुफ्री सिन्दुरी, टि.पि.एस. लगायतका जातका आलु लगाउने गरिन्छ । आलु खेती हिउँद र बर्षा दुबै मौसममा गरिन्छ ।
आ व २०६८/०६९ मा हिँउदमा ४ हजार ८ सय ५ हेक्टरमा लगाईको आलु ६७ हजार ७ सय ५० मेटि्रक टन उत्पादन भएको थियो । उक्त आलु प्रतिकेजी ३५ रुपैयाँदेखि ४५ रुपैयाँसम्ममा बिक्री भएको थियो । त्यस्तै २० हजार १० हेक्टरमा लगाइएको बर्षे आलु ३२ हजार दुईसय मेटि्रक टन उत्पादन भएको थियो । सो आलु प्रतिकेजी २५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बिक्री भएको कृषि विकास कार्यालयले तथ्यांकमा उल्लेख गरिएको छ ।
अम्लिसो :
इलामको अर्को ब्यवसायीक खेतीमा अम्लिसो पनि पर्दछ । अम्लिसोको फूल कूचोको रुपमा बिक्री हुने र यसको घाँस पनि उत्तिकै राम्रो हुने र यसको बोट दाउराको रुपमा प्रयोग गर्ने गरिन्छ । वारीको कान्ला र अन्य खेती नहुने पाखाहरुमा गरिने अम्लिसो खेतीबाट किसानहरुले राम्रो आम्दानी गर्दै आएका छन् ।
इलामबाट गत आर्थिक बर्ष ०६८/०६९ मा ५१ हजार ८१ दशमलब ५८ हेक्टर क्षेत्रफलमा लगाइएको अम्लिसोबाट ६७ हजार ३ सय ६० दशमलब ५४ मेटि्रक टन कुचो उत्पादन भएको छ । सदरद ३५ रुपैयाँ प्रतिकेजीमा बिक्ने कुचोबाट किसानले बाषिर्क २ अर्ब ३५ करोड ७६ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको जिल्ला पशुसेवा कार्यालय इलाममा पशुसेवा प्राविधिक डिगबहादुर कार्कीले जानकारी दिनुभयो । इलाममा उत्पादित कूचो झापाको धुलाबारीमा प्याकिङ गरी मलेसियालगायतका मुलुकमा निकासी हुने गरेको छ ।
ओलन (दूध) :
दूध उत्पादनमा पनि इलाम पूर्वकै अग्रणी जिल्लामा पर्दछ । उत्पादन हुने दूधको आधा हिस्सा अहिले पनि प्रयोगमा आउन सकेको छैन । जिल्ला पशु सेवा कार्यालय इलामका अनुसार जिल्लामा गत आर्थिक बर्षमा १ लाख ५ हजार ९ सय ७८ मेटि्रक टन दूध उत्पादन भएको छ । यो अघिल्लो बर्षको तुलनामा ६ दशमलब १ प्रतिशत बढी हो । अघिल्लो बर्ष ९९ हजार ५ सय १३ मेटि्रक टन दूध उत्पादन भएको कार्यालयले जनाएको छ । पछिल्लो समय चीज कारखाना र ललिपप उद्योग सञ्चालनमा आएका छन् भने इलाम उत्पादीत गरेको दूधले सीमा क्षेत्रका भारतीय बजारमा पनि राम्रो स्थान ओगटेको ब्यवसायीहरु बताउँछन् । यति हुँदाहुदै पनि इलाममा उत्पादित दूधमध्ये आधाले अझै बजार पाउन नसकेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । इलाममा उत्पादित दूध प्रतिलिटर २८ रुपैयाँ देखि ३५ रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।

No comments:

Post a Comment