कृषि पर्यटनको पहिलो गन्तव्य इलाम'

नयाँ पत्रिका, इलाम : पर्यटन तथा नागरिक उड्ययनमन्त्री लोकेन्द्र विष्टमगरले इलामलाई कृषि पर्यटनको पहिलो गन्तव्य बनाइने बताएका छन् । उनले कृषिमा सबैभन्दा अगाडि रहेकाले इलामबाटै कृषि पर्यटन सुरुवात गर्ने बताए । 
मन्त्री मगरले कृषिबाट उन्नत जीवनशैली, अलैँचीले नेपाल चिनाउने जिल्ला, अदुवा, आलु तथा ओलनजस्ता कृषि उत्पादनमा अन्य जिल्लाभन्दा अगाडि रहेकाले इलाममा कृषि पर्यटनको सम्भावना उच्च रहेको आँैल्याए । उनले आउँदो बजेट, नीति तथा कार्यक्रममा सरकारले इलामलाई कृषि पर्यटनको पहिलो गन्तव्य बनाउने ठोस कार्यक्रम नै ल्याउने तयारी गरेको बताए । इलाम बजारमा सोमबार आयोजित कार्यक्रममा उनले कृषि पर्यटनमा किसानलाई उत्साहित गर्न आफू इलाम आएको जानकारी गराए । 
'दक्षिण अमेरिकामा कृषि पर्यटन फस्टाएको छ । नेपालमा पनि यसको सम्भावना उच्च रहेकाले कृषिमा उन्नत जिल्लाका रूपमा इलामलाई छानिएको हो,' मन्त्री मगरले भने, 'इलामले गत वर्ष दूधबाट मात्रै एक अर्ब ८० करोड आम्दानी गरेको जानकारी पाएको थिएँ । जिल्लामै दुग्ध प्रशोधन कारखाना खोलेर दूधको अध्ययनशाला बनाउन सके पर्यटक र आम्दानी दुवै बढ्न सक्ने सम्भावना रहेछ ।' 
इलामबजारमा रहेको नेपालकै पुरानो चियाबगान, आधुनिक र अग्र्यानिकउन्मुख खेती प्रणालीले आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्न अत्यन्त ठूलो योगदान गर्ने उनले सुझाए । उनले भने, 'मुलुकमै जलविद्युत् र कृषिलाई पहिलो पर्यटकीय गन्तव्य बनाउने योजना बन्दै गरेका वेला इलामको कृषि पर्यटनले स्थानीयको मात्र होइन देशकै आर्थिक वृद्धिदर हासिल गर्न महत्त्वपूर्ण सहयोग मिल्ने सरकारले ठहर गरेको छ ।' उनले कृषिको विकास गर्न सकेमात्रै देशको अर्थतन्त्रले फड्को मार्ने जिकिर गरे ।
पर्यटनलगायतका विकास निर्माणमा राजनीतिक स्वार्थभन्दा माथि उठ्नुपर्ने भन्दै उनले राजनीतिक स्वार्थकै कारण देशमाथि उठ्न नसकेको बताए । एउटाले अर्काको खुट्टा तान्ने प्रवृत्तिले नै हामी अहिलेसम्म उठ्न नसकेको 
उनको भनाइ छ । 
मन्त्री मगरले पहिचानविनाको संघीयता र संघीयताविनाको संविधान जारी नहुने बताए । उनले त्यस्तो संघीयता दीगो नहुने जिकिर गरे । १४ जेठयता सरकार परिवर्तन नहुने भन्दै उनले सहमतिको सरकार निर्माणका लागि वातावरण सिर्जना भए वर्तमान सरकारले ठाउँ खुला गर्न तयार रहेको बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड कार्यकारी प्रमुख सुभाष निरौलाले नेपाल विश्वको नम्बर एक पर्यटकीय गन्तव्य बनेको दाबी गरे । पर्यटन प्रवर्द्धन गरेर मात्र हुँदैन यसको बजारीकरण त्योभन्दा महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

No comments:

Post a Comment